भ्यालेन्टाइन, चुम्बन र मुख स्वास्थ्य

भ्यालेन्टाइन, चुम्बन र मुख स्वास्थ्य

HamroPatro

भ्यालेन्टाइन सप्ताहः

हरेक बर्ष फेब्रुअरी महिनाको ७ देखि १४ तारिख सम्मको ७ दिनलाइ विश्वभर प्रेमी, प्रेमिकाले मायाको प्रतिक स्वरूप गुलाफ दिने, मायाको प्रस्ताव गर्ने, चकलेट दिने, पुतला (टेडि बियर) दिने, प्रतिज्ञा गर्ने, अंकमाल गर्ने, चुम्बन गर्ने र मायाको विश्वास दिलाउने लगायतका दिनदिनै माया प्रेम दर्साउने विशेष कृयाहरू गरेर भ्यालेन्टाइन (प्रणय) सप्ताह मनाउने गरिन्छ । भ्यालेन्टाइन सप्ताहको प्रथम दिनलाइ प्रेमीले प्रेमिकालाइ फुल सहितको गुलाफको स्टिक दिएर मनाउने गरिन्छ । यस बर्ष प्रणय दिवसको अवसरमा भारतबाट आयात हुँदै गरेको २ लाख ६० हजार (९३ प्रतिशत) गुलावहरूमा झण्डै १ लाख ६८ हजार (६० प्रतिशत) काठमाण्डुमा र १ लाख १२ हजार (४० प्रतिशत) उपत्यका बाहिर समेत गरी करिब ३ लाख युवा युवतिले गुलाव साटासाट गर्ने, चुम्बन गर्ने र माया प्रदर्शन गरेर भ्यालेन्टाइन दिवस मनाउन सक्ने अनुमान गरिएको छ ।

भ्यालेन्टाइन सप्ताहको सातों दिनलाइ प्रेमी प्रेमिकाले चुम्बन गरेर माया साटासाट गर्ने र एक अपसमा मायाको अनुभूति गर्ने चुम्बन दिवस (Kiss Day) को रूपमा मनाइन्छ । चुम्बन गर्नाले एक अपसमा मायाको प्रगाढ सम्बन्ध, अत्मियता, अत्मविश्वास र घनिष्ठताको अनुभूति महसुस गरिन्छ । हार्दिकताकासाथ गरिएको चुम्बनले प्रेम, अत्मियता र शान्ति प्रदान गरी स्वास्थ्यबर्धक हुन्छ ।

के चुम्बन गर्दा रोग सर्न सक्छ ?

स्वस्थ मानिसले चुम्बन गर्दा रोग सर्दैन । मुखामुख गरेर चुम्बन गर्दाको तुलनामा अनुहार, शिर वा हातमा चुम्बन गर्दा रोग सर्ने जोखिम ज्यादै न्यून रहन्छ । स्वास्थ्यको दृष्टिकोणबाट हेर्दा मुखामुख गरिने चुम्बन कहिले काहीँ मुखमा भएका रोग सर्ने जोखिमपूर्ण कार्य मानिन्छ । चुम्बन गर्दा ख्याल गर्नु पर्ने कुरा के छ भने कतै चुम्बन गर्दा एक अपसमा रोग नसरोस् । अस्वस्थ मानिसले चुम्बन गर्दा रूघा खोकी (cold sore), ग्रन्थी सुन्निने (glandular fever), दाँत सड्ने (dental caries) इन्फ्लुएन्जा, कोरोना (कोभिड) लगायतका भाइरस, ब्याक्टेरिया लगायतका सूक्ष्मजीवजन्य धेरै थरि रोग सर्ने जोखिम रहन्छ । वयस्कले शिशुलाइ चुम्बन गर्दा धेरै रोग सर्ने जोखिम रहन्छ ।

चुम्बन गर्दा सर्ने केही भाइरल रोगहरूः

१. रूघाखोकीः रूघाखोकी गराउने इन्फ्लुएन्जा भाइरसहरू राल, सिंगान र सास वा मुखको वाफ (Aerosole/droplet) वा सोझै सम्पर्कबाट (contact) सर्ने भएकाले चुम्बन गर्दा सहजै सर्न सक्दछन् ।

२. चुम्बन रोग (Kissing disease): यस रोगमा चुम्बन गर्दा राल वा मुखमा भएको Epstein-Barr virus संग प्रत्यक्ष संसर्ग हुँदा मुखमा संक्रमण (Infectious mononucleosis) हुने हुनाले यसलाइ चुम्बन रोग पनि भनिन्छ । यो रोग कलेज पढ्दै गरेका युवा युवतिमा अधिक मात्रामा देखिन्छ ।

३. हर्पेज भाइरस (Herpes simplex virus 1, 2): हर्पेज समूहका भाइरसहरूमा दादुरा (measles), ठेउला (chickenpox/varicella-zoster), रूघा खोकी लगाउने र घाँटी दुख्ने हर्पेज (herpes simplex) भाइरस चुम्बन गर्दा सोझै सम्पर्क, सास र रालका ससाना बुँदबाट सर्ने भाइरल मेनिन्जाइटिस गर्न सक्दछन्। Herpes simplex virus (1, 2) हरूबाट संक्रमण भएर पनि लक्षण नदेखिन सक्छ । तर एक पटक संक्रमण भएपछि अजिवन निको हुंदैन । हर्पेस भाइरस १ भाइरसको संक्रमण भएमा ओँठ, मुख र गिँजामा घाउ हुने, दुख्ने फोका निस्कने, फाका फुट्ने, पाप्रा लाग्ने, दुख्ने हुन्छ । यो भाइरस चुम्बन गर्दा वा मुखामुख गर्दा सहजै सर्दछ । यो रोग बाल्यकालमै लाग्ने गर्दछ । विश्वमा ५० बर्ष मुनिका ३.७ बिलियन मानिसमा एच एस भि १ बाट संक्रमित भएको कुरा विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यसैगरी, विश्वमा १५ देखि ४९ बर्ष उमेर समूहका करिब ४९१ मिलियन मानिस प्रजनन अंगमा घाउ गराउने एच एस भी २ बाट संक्रमित छन् । एच एस भि २ भाइरस मुख्य गरी मैथुनबाट सर्ने भएपनि चुम्बन गर्दा पनि सर्न सक्दछ ।

४. हेपाटाइटिस भाइरसः मुख्य गरी रगतबाट सर्ने यो भाइरस चुम्बन गर्दा पनि सर्न सक्दछ । रोगीको राल, मुखको बाफ, संसर्ग, गिँजाका घाउ र रगतबाट पनि यो रोग सर्न सक्दछ ।

५. मुसा (warts/papilloma virus): मुखमा सामान्य घाउ भएमा मुसा सर्न सक्दछ । मानिसको पेपिलोमा भाइरस मैथुनादि यौनजन्य कृयाबाट बढि सर्दछ ।

६. कोभिड भाइरस, इन्फ्लुएन्जा र सासबाट सर्ने अन्य रोगहरू

चुम्बन गर्दा सर्ने केही ब्याक्टेरियल रोगहरूः

१. मेनिन्जाइटिसः मेनिन्गोकोकस ब्याक्टेरिया मुखमा संक्रमण गर्ने र मुखबाट रगत हुँदै मस्तिषकमा संक्रमण गरेपछि मेनिन्जाइटिस हुन्छ । यी ब्याक्टेरियाहरू पनि सोझै संसर्गमा अएर वा बाफ वा सास मार्फत सर्ने हुनाले चुम्बन गर्दा सहजै सर्दछन् ।

२. दाँतमा किरा लाग्नेः धेरै किसिमका ब्याक्टेरियाहरूबाट दाँतमा किरा लाग्ने भएपनि कतिपय मात्र सर्दछन् ।

३. भिरंगी (Syphilis): सामान्यतया यौनांगमा देखिने भिरंगी रोगका गोला, कडा र नदुख्ने घाउहरू ओँठ र मुखमा पनि देखिन सक्दछन् । चुम्बन गर्दा ओँठ वा मुखमा देखिएका भिरंगीका घाउको प्रत्यक्ष संसर्गमा अउनाले रोग सर्न सक्दछ । यी खतहरू ३ देखि ६ हप्तामा निको हुन सक्दछन् । भिरंगी लागेको मानिसमा ज्वरो अउने, टाउको दुख्ने, घाँटी दुख्ने, स्वर धोद्रो हुने, लिम्फग्रन्थी सुन्निने, वजन घट्ने, थकित हुने र मासु वा जिउ दुख्ने लक्षण देखिन सक्दछ ।

४. क्षय रोग र सासबाट सर्ने गिँजा, मुख तथा अन्य ब्याक्टेरियल रोगहरूः

चुम्बन गर्दा रोग नसार्न मुख स्वास्थ्यः

मुख स्वास्थ्य प्रति सचेत भएर हाइजिन र सरसफाइ कायम गर्दै स्वस्थ मुख तथा शारिरक तन्दुरूस्ति राख्न सकेमा चुम्बन गर्दैमा कुनै खास जोखिम हुँदैन । निम्नानुसारका अवस्थामा जो कसैले पनि चुम्बन नगर्ने नगराउने सावधानी अपनाउन सकेमा चुम्बन गर्दा रोग सर्ने जोखिम न्यून गर्न सकिन्छः

नवजात, शिशु वा बालबालिका

जे सुकै बिमारी भएको वा अस्वस्थकर अवस्था

रूघा, खोकी, दम, घाँटी दुख्ने, स्वर धोद्रिएको, मुख सुन्निएको

मुख वा ओँठमा मा घाउ खटिरा, गिँजामा रक्तश्राव वा सुन्निएको, दाँत दुखेको

फोहोरी मुख, सास गनाउने, जिभ्रोमा लेउ जमेको, दाँतमा हर्षा परेको,

दाँतमा लेउ वा ढुंगा जमेको, टारटार जमेको, दाँत हल्लिएको

गिँजाबाट रगत वा पिप बगेको, दाँत किराले खाएको

मुखको सरसफाइ र हाइजिनको व्यवस्था नगरेको

समय समयमा दन्त चिकित्सकलाइ जँचाउने नगरेको

सारांशः

मुख स्वस्थ भएमा र मन मिलेमा चुम्बन गर्न सकिन्छ । तर अस्वस्थकर अवस्थामा चुम्बन गर्नु हानिकारक हुन सक्दछ । बालबालिकालाइ मुखामुख गरेर चुम्बन गर्नु हुँदैन । स्वस्थ मुख र हाइजेनिक अभ्यास गरेमा सबैसंग हाँसि खुसि मनाउन सकिन्छ । स्वास्थ्य र जीवनसंग जोखिमपूर्ण कुनै काम नगरों । मुख स्वस्थ राखों, भ्यालेन्टाइन मनाउँ । Happy valentine week, 2023

डा. प्रतिक्षा घिमिरे, डा. सिमा घिमिरे, डा. आदर्श खनाल र डा. नारायण घिमिरे

सुमेन डेण्टल होम प्रा.लि., बसुन्धरा



from हाम्रो पात्रो "https://ift.tt/ZAXh1Nl"
via IFTTT

Post a Comment

0 Comments