नेपाल

नेपाल

उद्धव देवकोटा

छ यो नेपाल पवित्र

देव तुल्य जन्मभूमि

छ उर्वर मृतीका यो

चन्दन हो यो सुगन्धी !

पर्दा चरणमा मात्र

मात्र यो देवभूमिको

"तथास्तु सर्व मंगल"

मिल्छ आशिष मुनीको !

बुद्धत्व बर्सिन्छ यहाँ

बनेर पीयूष धारा

बालेर शान्ति दीप

डोर्‍याई विश्व सारा !

अटल सिमाना बनेर

हिमाल मुस्कुराउँछन्

डाँफे र मुनाल त्यतै

हेर कम्मर मर्काउँछन्  !

बग्दछन् सहस्रधारा

बनी मेची, काली ,भेरी

सिंच्दै फाँट तराईका

फुलाउन सुन फेरी !

उत्तर शिर बनेर

हाँस्दछ सगरमाथा

दक्षिण उर्वर भूमी

गाँउछ कृषिका गाथा !

लाग्दा चोट हिमालमा

दुख्छ त्यो पहाडलाई

खसाल्छन् आँसु बर्बरी

हे ! छाती ठोक्दै तराई !

देउडा,चुड्का मारुनी

दशै, तिहार, छठमा

होस ईद, क्रिसमस

संग हुन्छन् बहारमा !

उर्वशी, रम्भा, मेनका

झैं सौन्दर्य बरोवर

फेवा ,रारा र तिलिचो

झल्को दिन्छन् सरासर !

अघाउन्न म कहिल्यै

पिएर तिम्रो पराग

मोहनी चंचले रुप

हेरीरहुँ झैं छ खास !

अपार जलको राशी

छन् उस्तै वनसम्पदा

अमूल्य छन् वनौषधी

जीवन हितमा सदा !

रच्दै पुराणका पाता

दिए जीवन पद्धति

उठाउन सके मात्र

बढ्छ जीवनको गति !

यस्तो अनुपम देश

कहाँ मिल्ला भूतलमा 

हो स्वर्गको यो स्वरुप

सदा छ मेरो दिलमा !!

---------

हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।



from हाम्रो पात्रो "https://ift.tt/cd27Cqo"
via IFTTT

Post a Comment

0 Comments