षट्तिला एकादशी

षट्तिला एकादशी

HamroPatro

माघ कृष्ण पक्षको एकादशी

माघ कृष्ण पक्षको एकादशीलाई षट्तिला एकादशी भनिन्छ । यसलाई माघ कृष्ण एकादशी, तिला एकादशी आदि विभिन्न नामले जानिन्छ । षट् अर्थात् ६ वटा र तिल अर्थात् तिलको दाना, यी दुई शब्द मिलेर यस एकादशीको आव्हान भएको छ । जस अनुसार तिलले स्नान गर्ने, तिलको लेपन लगाउने, तिलको हवन गर्ने, तिलले पितृ तर्पण गर्ने, तिलको भोजन गर्ने र तिल दान गरिन्छ । षटतिला एकादशीको व्रत बस्नेले व्रतका क्रममा जति दाना तिलको प्रयोग गर्दछन् त्यति नै वर्ष स्वर्गमा बास हुने धार्मिक विश्वास रहेको छ । त्यसै गरी अरू एकादशी व्रत झैँ श्रद्धापूर्वक षटतिला एकादशीको व्रत बस्नाले सबै पापहरूको नष्ट हुने मान्यता रहेको छ । षटतिला एकादशी व्रतका समयमा तिललाई विभिन्न ६ प्रकारले प्रयोग गरिने भएकोले नै षटतिला भनिएको हो ।

षटतिला एकादशीमा तिल दान

सनातन सभ्यतामा तिललाई पवित्र रूपमा मानिन्छ, यसलाई धार्मिक र आध्यात्मिक दुवै हिसाबले महत्त्वपूर्ण मानिन्छ । यस एकादशीमा तिल दानलाई अत्यन्त महत्त्वपूर्ण रूपमा लिइन्छ । यस दिन तिल दान गर्नु र भगवान् विष्णुको नाम लिनु धेरै महत्त्वपूर्ण छ ।

षटतिला एकादशी व्रतकथा

पौराणिक कथन अनुसार एक दिन नारदमुनि ऋषि त्रिलोक भ्रमण गर्दै जाँदा बिष्णुबास वैकुण्ठ पुगे । त्यहाँ नारमूनि लाई विष्णु भगवानले श्रद्धापूर्वक स्वागत गरे । नारदले सोही मौकामा षटतिला एकादशी व्रतका बारेमा विष्णुसँग जिज्ञासा राखे । विष्णुले पनि यस एकादशी व्रत महिमाको सबै कथा बेलिबिस्तार सुनाइदिए । कथा अनुसार त्यति बेला पृथ्वी लोकमा एक ब्राम्हणी बस्दथिन् । ब्राम्हणी विष्णुप्रति धेरै श्रद्धा भक्ति गर्दथिन् । एक दिन ती ब्राम्हणीले विष्णुको भक्ति स्वरूप एक महिना लामो व्रत बसिन् । व्रतको प्रभावले ब्राम्हणी सबै पापबाट मुक्त भई शुद्ध भइन् तर तिनको एउटा कमजोरी के थियो भने कहिल्यै पनि कसैका निम्ति अन्न दान गरेकी थिइनन् । विष्णुले आफ्नो भक्त सबै पाप हरण भई स्वर्गमा बास पाउन योग्य भए पनि अन्न दान नगरेका कारण अतृप्त नै रहने कुरा मनन गरे । त्यही भएर उक्त कार्यबाट ब्राम्हणीलाई मुक्त गराउन स्वयं एक दिन भिक्षा लिन ब्राम्हणीकहाँ पुगे ।

ती ब्राम्हणीले पनि भिक्षा स्वरूप माटोको डल्लो विष्णुरूपी भिक्षुका हातमा राखिदिइन् । भिक्षु विष्णु त्यही माटोको डल्लो लिएर गए । दिन बित्दै जाँदा ती ब्राम्हणी एक दिन परलोक धाम भई बिष्णुलोक मा पुगिन् । उनलाई बिष्णुलोक मा आँपको रुख नजिकै एउटा खाली कुटि मिल्यो । खाली कुटि भेटेपछि चिन्तित बनेकी ती ब्राम्हणीले पुन विष्णुको भक्ति गरिन् । विष्णु प्रकट भए । ब्राम्हणीले आफू सबै धर्म परायण भएर पनि किन खाली कुटि मिल्यो भनेर विष्णु समक्ष जिज्ञासा राखिन् । विष्णुले पनि उनले कहिल्यै अन्न दान नगरेको र भिक्षा दिँदा समेत माटोको डल्लो दान गरेका कारण यस्तो भएको बताइदिए । यस्तो सुनेपछि ब्राम्हणी चिन्तित भएको देखेर विष्णुले त्यसको उपाय स्वरूप( देवकन्याहरु तिमीलाई भेट्न आउनेछन् र त्यति बेला मात्रै कुटिको ढोका खोल्नु कि जति बेला उनीहरूले तिमीलाई षटतिला एकादशीको व्रत विधि सुनाउँछन्, भनी बताइदिए ।

ब्राम्हणीले पनि खुसी हुँदै त्यसै गरिन् । देवकन्याहरुले बत्ताइदिएको विधि अनुसार उनले षटतिला एकादशीको व्रत बसिन् । तिल दान गरिन् । फलस्वरुप ब्राम्हणीलाई कुटिभरी बाँकी धेरै अन्नहरू प्राप्त भयो । विष्णुले नारदलाई यसरी षटतिला एकादशी व्रतको सबै विधि कथा बत्ताइदिए । सोही अनुसार षटतिला एकादशी व्रतका बेला तिल लगायतका अन्न दान गरेको खण्डमा वैकुण्ठ बास भई सुख प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

ॐ नमो भागवते बासुदेवाय स्वाहा

षटतिला एकादशीका बेला तिल मिश्रित खिचडी पकाई विष्णुलाई अर्पण गर्ने चलन पनि रहेको छ । साथै रात्रि समयमा तिल हातमा लिएर १०८ पटक ॐ नमो भागवते बासुदेवाय स्वाहा भन्दै मन्त्रोच्चारण गरी अर्पण गर्ने गरिन्छ । त्यसै गरी विष्णुलाई अर्पण गर्ने सामाग्रीहरूको अभाव भएमा एक सय वटा दाना सुपारी चढाएर पनि पूजा गर्ने गरिन्छ । षटतिला एकादशीको व्रतबाट शारीरिक शुद्धि तथा आरोग्य समेत प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

पापहरूको नाश अनि बैकुण्ठधामको प्राप्तिका लागि यस एकादशी अत्यन्त महत्त्वपूर्ण मानिन्छ । यस दिन व्रत बस्नाले मानसिक र शारीरिक दुवै कष्टहरूबाट मुक्ति मिल्ने अनि भगवान् विष्णुको असीम अनुकम्पा प्राप्त हुने जनविश्वास छ ।

यस दिनको स्नान, दान, भोजन, पिण्ड, तर्पण आदि हरेक कुरामा तिलको प्रयोग गरिन्छ । यस दिन काँचको भाँडामा मास, तिल र महको सेवन गर्ने परम्परा पनि छ ।

नुन, तेल र अन्य अन्नहरूको सेवन नगरी चोखो बसेर यस दिन भगवान् विष्णुको आराधना गर्ने, देवथलोहरुको दर्शन गर्ने र चित्त शुद्ध गरी बस्ने एकादशी महात्मेयमा वर्णन भएको पाइन्छ ।

हरिको कृपा सबैमाथि रहोस् । यस एकादशी तन र मन दुवै शुद्धीकरणका लागि प्रयोग होस् । शुभकामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



from हाम्रो पात्रो "https://ift.tt/kUmNDes"
via IFTTT

Post a Comment

0 Comments