भीमा एकादशी व्रत/मुक्तक दिवस

भीमा एकादशी व्रत/मुक्तक दिवस

HamroPatro

अडियो सुन्नुहोस

महाभारत काल बाट रहन गएको भीमता एकादशीको नाम पछाडिको कारण

महाभारत कालदेखि भीमता एकादशीको महत्त्व विलक्षण रूपमा लिएको पाइन्छ । कुन्ती पुत्र भीमले यो एकादशीमा व्रत बसेका थिए । गरुड पुराणअनुरूप भीम अत्यन्त खन्चुवा, मोटा र बलवान थिए । उनी व्रत बस्न सक्लान् भन्ने कमैलाई मात्र लागेको थियो । तर भीमले बहुतै त्याग र समर्पणका साथ यो एकादशीको व्रत बसे । त्यसपछि माघ शुक्ल एकादशीको नाम नै भीमता एकादशी रहन गयो ।

भीमले एकादशीको व्रत बसेका कारण सबै पितृ ऋणहरूबाट मुक्त भएको गरुड पुराणमा उल्लेख छ । जसरी कुमार्गी राजाले राज्य, कुपुत्रले कुल, दुष्ट पत्नीले पति, अधर्मले धर्म, खराब मन्त्रीले राजा, अज्ञानताले ज्ञान, अशौचले शौच, अश्रद्धाले श्रद्धा, असत्यले सत्य, उष्णताले शीतलता, अनाचारले सम्पत्ति, विषमयले तप, अशिक्षाले ज्ञान, क्रोधले शान्ति र निकम्मताले फलको नष्ट गर्छ, ठिक त्यस विपरीत भीमता एकादशीको व्रतले सबै पाप त्यसरी नै नष्ट गरी मानिसलाई सुमार्ग प्रदान गर्ने र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।

भीमता एकादशीको व्रतको महात्मै

भीमता एकादशीको व्रतबाट ब्रम्ह हत्या, सुरापान, सुनको चोरी, गुरु–पत्नी गमन जस्ता पापहरू नास गर्ने शक्ति प्राप्त हुन्छ । नैमिषक्षेत्र, कुरुक्षेत्र, प्रभासक्षेत्र, यमुना, गङ्गा लगायत सबै तीर्थहरू पुगे बराबर धर्म प्राप्त हुन्छ । भीमता एकादशीको व्रत कुनै पनि दान, जप, होम तथा अन्य पुण्य कर्महरूभन्दा ठुलो मानिन्छ । यतिसम्म कि एउटा पृथ्वी दान गर्नुभन्दा पनि भीमता एकादशीको व्रतको महात्मै ठुलो मानिएको छ ।

भीमता एकादशी माघ शुक्ल पक्षमा पर्छ । अन्य एकादशीहरू झैँ भीमता एकादशीलाई पनि पाप हरण गर्ने अर्को महत्त्वपूर्ण एकादशी मानिन्छ । भीमता एकादशीको व्रतबाट मनुष्यले भोग र मोक्ष दुवै प्राप्त गर्ने धार्मिक विश्वास छ ।

कलियुगमा भगवानको नाम जप्नुलाई नै सबैभन्दा ठुलो यज्ञ अथवा धार्मिक कार्यका रूपमा लिइन्छ । एकादशीमा भगवान् विष्णुको नाम जप्ने तथा आराधना गर्ने महत्त्वपूर्ण दिन हो । अरू एकादशीका दिन झैँ भीमता एकादशीका दिन पनि रात्रि जाग्राम बस्ने र विष्णुको कीर्तन गरिन्छ । भीमता एकादशीका दिन भगवान् विष्णुलाई धूप, दीप तथा नैवेद्यले पूजा गरी खिचडी पकाएर चढाउने धार्मिक परम्परा छ ।

भीमता एकादशीका दिन विष्णुरूपी बराहदेवको स्वर्णप्रतिमा बनाएर ताम्र पत्रमा स्थापना गरी सेतो ब्रस्त्रले ढाकेर दीप प्रज्वलन गरी ‘ॐ बराहाय नम’ मन्त्र उच्चारण गर्नु अझ फलदायी मानिन्छ । यसरी गरिएको बराह पूजाले समस्त मानव प्राणी ‘पितृ, गुरु र देव’ तीनै ऋणबाट मुक्त हुने उल्लेख गरिएको छ ।

यस एकादशीमा सुनसरीको वराहक्षेत्र मा भगवान् विष्णुको बराह अवतार दर्शनार्थ भक्तजनको घुइँचो लाग्छ । यसका साथै अन्य देवालय र तीर्थस्थलमा समेत भक्तजनको घुइँचो रहन्छ ।

धर्मको रक्षा गरौं । सबैको जय होस् ।

मुक्तक दिवस

मुक्तक नेपाली साहित्यको असाध्यै लोकप्रिय विधा हो । इतिहास साक्षी छ, मुक्तक ले नेपाली समाजको पीडा, संवेदना देखि विसङ्गति सम्म सबै कुराहरूलाई उजागर गरेको छ ।

कम शब्द, छन्द अनि वाचनमा मिठास, मुक्तक नेपाली साहित्यको सर्वाधिक रुचाइएको एउटा पाटो हो । शब्दको अर्थशास्त्र आत्मसाथ गर्दे एउटा मुक्तकको टुक्रामा सारा ब्रह्माण्ड अटाएको हुन्छ । नेपाली साहित्यमा मुक्तकलाई संस्थागत गर्नका लागि विसं २०७० साल भदौको १७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा नेपाल मुक्तक प्रतिष्ठानको विधिवत् दर्ता समेत भइसकेको छ । नेपालमा मुक्तकको थिति बसाल्ने उद्देश्यले विसं २०७० साल माघ १६ देखि १८ गतेसम्म पोखरामा ३ दिने कार्यशाला गोष्ठीको आयोजना गरी ५ बुँदे घोषणा पत्र समेत जारी गरिएको थियो । पोखरामा यसरी घोषणापत्र जारी गरिएको दिन माघ १८ गते हरेक वर्ष मुक्तक दिवस मनाउने गरिन्छ ।

नेपाल मुक्तक प्रतिष्ठानको शाखाहरू आज नेपालमा मात्र सीमित नभईकन विदेशमा सम्म बिस्तार भइसकेको छ ।

सुन्दा एकादेशको कथा झैँ लाग्न सक्छ तर एक जमानामा यूवामञ्चमा छापिने मुक्तकको महिनैपिच्छे प्रतीक्षा गरिने गरिन्थ्यो । पछि साप्ताहिक देखि अन्य अनकन मासिक र साप्ताहिक पत्रिकाहरूमा मुक्तकको श्रृखला पढ्न अनेक आँखाहरू लालायित हुन्थे । अझै पनि औपचारिक कार्यक्रमका एकतमासका पट्यारहरू मुक्तकको एक हरफले उडाएर लैजान्छ ।

हरेक वर्ष माघ १८ गते मनाइने मुक्तक दिवसको सबैलाई शुभकामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



from हाम्रो पात्रो "https://ift.tt/v40EFI9"
via IFTTT

Post a Comment

0 Comments