जाडोमा दाँतको हेरविचार

जाडोमा दाँतको हेरविचार

HamroPatro

दाँतको बनोट र दुखाइः

दाँतको सबैभन्दा बाहिरी सेतो र कडा भागलाइ इनामेल (enamel), त्यसको भित्रको मसिना छिद्रयुक्त हाडलाइ डेण्टिन (dentin) र सबैभन्दा भित्री रगत र स्नायुका नसा भएको नरम भागलाइ पल्प (pulp) भनिन्छ । इनामेलले साह्रो खानेकुरा चपाउन र मुखमा हुने ठोस वा तरल खानेकुरा र हावा समेत दाँत भित्र छिर्नबाट जोगाएर दाँतको सुरक्षा गर्दछ । हामीले खाने अम्लिय पदार्थ, सफ्ट ड्रिंक्स वा दाँतमा अड्किएको खानेकुरामा बृध्दि हुने सुक्ष्म जीव (ब्याक्टेरिया) ले उत्पन्न गर्ने अम्लीय पदार्थले इनामेल पगालेर दाँतलाइ कमजोर पार्न सक्दछन् । इनामेल खिइएको दाँतमा डेन्टिनका मसिना छिद्रबाट खाना चपाउंदा, ब्रस गर्दा, पानी वा अन्य पदार्थ खांदा वा बाहिरी वातावरणबाट हावा, पानी, चिसो, तातो, अमिलो, गुलियो वा कुनै पनि वस्तु पल्पमा सहजै पुगेर स्नायुलाइ उत्तेजित पारेर दाँत सिरिङ् सिरिङ् गर्ने वा दुख्ने गर्दछ ।

ठण्डिमा दाँतको दुखाइः

चिसो समयमा शरीरमा देखिने संक्रमण लगायत दाँतमा सिरिङ्-सिरिङ् हुने र दुख्ने समस्या धेरै देखिने गर्दछन् । धेरै चिसो पानी, अइसक्रिम, बरफ, फ्रिजमा राखेको वा चिसो खानेकुरा वा सफ्ट ड्रिंक्स पिउँदा दाँतको इनामेल नष्ट भएर डेण्टिन देखा पर्दछ । दाँतको इनामेल पहिले नै खिइसकेको भएतापनि ठण्डी याममा धेरै चिसो पानी, खाना वा हावा डेण्टिनका छिद्र हुँदै पल्पमा भएका स्नायुलाइ उत्तेजित पारेर दाँत दुख्ने वा सिरिंङ् सिरिंङ् गरेको अनुभूति हुन्छ । भरेको दाँत छ भने त्यो भरेको सामान र हाम्रो दाँत टुक्रिने र झर्ने जोखिम गर्मीको तुलनामा ठण्डीमा धेरै हुन्छ । अर्थात, चिसोमा किराले धेरै दाँत खाने भन्दा पनि पटक पटक मुख खोल्दा, सास फेर्दा वा चिसो भोजन, पेय पदार्थ वा हावा लाग्नाले दाँत दुखेको अनुभूति हुन्छ । दाँत दुख्नुका साथै गिँजा सुन्निने, गिँजाबाट रगत आउने (दन्त हर्षा), गिँजा पाक्ने (पायोरिया) र दाँतको जरा दुख्ने जस्ता समस्या गर्मिको तुलनामा धेरै देखिने गर्छ।

चिया, कफी र कालोदाँतः

धेरै तातो र धेरै चिसो पेय पदार्थले दाँतलाइ असर गर्दछ । नेपालमा जाडो मौसममा धेरैजसोले चिया र कफी धेरै पटक पिउने गर्दछन् । पटक पटक चिया र कफी पिउनेहरूको दाँतमा कालो दाग बस्ने गर्छ।

साबधानीः

१. चिसो खानाः धेरै चिसो, गुलियो र अमिलो खाने कुरा नखाने र खाना खाएपछि राम्रोसँग दाँत माझ्नु नै जाडो मौसममा दाँतलाई जोगाउने सर्बोत्तम उपाय हो।

२. दन्त मञ्जनः खिइएको दाँतको इनामेलको पुनर्स्थापन गर्न फ्लुराइडयुक्त मञ्जनले दाँत माझ्न सकिन्छ । डिसेन्टिटाइजिङ टुथपेस्टले दाँत माझ्दा वा लेपन गरिदिंदा पनि सिरिङ् सिरिङ् भएको क्षणिक रूपमा कम हुन्छ ।

३. दाँतको सरसफाइः चिसो समयमा धेरैले दाँतको सरसफाइ गर्न अल्छी गर्दछन् । नियमित रूपमा दाँतको सफाइमा ध्यान नदिँदा पनि दाँतमा हर्षा, पायरिया, टारटार लगायत अन्य गम्भीर खालका समस्या देखिने गर्छ। त्यसैले, खानेकुरा खाएपछि दैनिक नियमित रूपमा ब्रस गर्ने र कम्तिमा पनि मनतातो पानीले मुख कुल्ला गर्ने र सांझ बिहान फ्लोराइडयुक्त मञ्जन सहित ब्रस गर्नुपर्छ। कफी,चिया वा सफ्ट ड्रिंक्स पिइसकेपछि पनि मनतातो पानीले कुल्ला गर्नुपर्छ।

४. दाँत जँचाउनेः हाम्रो समाजमा दाँतमा गम्भीर खालको समस्या नआएसम्म र सहनै नसक्ने गरी दाँत नदुखेसम्म दाँत जचाउने वा दाँतको स्वास्थ्यमा त्यति ध्यान दिइदैन। दाँत दुखेको स्थायी रूपमा नीराकरणको लागि सकेसम्म प्रत्येक ६/६ महिनामा दन्त चिकित्सकसँग परामर्श लिन सकेमा दाँत दुख्ने, सिरिङ्–सिरिङ् गर्ने लगायतका दाँतका क्षणिक र दीर्घकालीन समस्याबाट सहजै बच्न, बचाउन र खर्च तथा तनावबाट सुरक्षित हुन सकिन्छ।

डा. सिमा घिमिरे, डा. प्रतिक्षा घिमिरे र डा. अदर्श खनाल

सुमेन डेण्टल केयर होम, बसुन्धरा, काठमाण्डु



from हाम्रो पात्रो "https://ift.tt/aIHL4W8"
via IFTTT

Post a Comment

0 Comments