नेपाल नर्सिङ्ग दिवस/विश्व कुष्ठरोग दिवस
नेपाल नर्सिङ्ग दिवस/विश्व कुष्ठरोग दिवस
HamroPatroअडियो सुन्नुहोस
बाहिर विश्वयुद्धको अग्नि दनदनी बलिरहेको थियो, मान्छेहरू दिनहुँ हताहत र घाइते भइरहेका थिए, सानो टुकी बालेर फ्लोरेन्स नाईटएगंल घाइतेहरूको सेवामा हरपल तत्पर थिइन् । गएको शताब्दीमा संसारभरिका मान्छेहरूले अत्यन्त महत्त्व दिएर आदरणीय रूपमा हेरेको नर्सहरूको बारेमा कुरा गरौँ ।
सेतो कोट लगाएकी, कपालमा रिबन लगाएकी, औषधीहरू बोकेकी अनि मुस्कान सहितको सेवा प्रदायक स्वास्थ्य परिचारिका नर्स । नर्स भन्नासाथ अस्पतालको याद आउँछ अनि मुख्य कुरा स्वास्थ्य सुधार अनि ममतामयी सेवा पनि याद आउँछ । हरेक वर्ष माघको १५ गतेका दिन नेपालमा नर्स दिवस मनाइन्छ ।
नेपालमा नर्सिङ को इतिहास
नर्सिङ को इतिहास नेपालमा खासै पुरानो भने छैन तर अहिलेको परिपक्ष्यमा नर्सहरूको महत्त्व अनि विकास धेरै भइरहेको छ । नर्स विनाको अस्पतालको परिकल्पना हामी गर्न सक्दैनौ । सन् १९४७ मा वीर अस्पतालको स्थापना पछि स्वास्थ्य सहायकका रूपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औलामा गन्न सक्ने ब्यत्तिहरु मात्रै थिए, वीर अस्पतालको इतिहास पल्टाउँदा उति वेला ड्रेसिङ लगायत अन्य उपचारहरू कम्पाउन्डर या डाक्टर स्वले गर्ने गर्दथे । नर्सिङ को नेपाली इतिहास विसं २०१३ वाट सुरु भएको देखिन्छ जब केही गृहणीहरु लगायतका नेपाली चेलीहरूले औपचारिक रूपमा नर्सिङ को तालिम लिएका थिए, राणा शासनका क्रममा सभ्रान्त परिवारमा स्वास्थ्योपचार अनि नर्सिङ को महत्त्व चाल पाएर नेपालमा नर्सिङ को सुरुवात भएको विश्वास गरिन्छ, राणा शासन को क्रममा चारजना नेपाली चेलीहरू विधावती कंसकार, राधा देवी मालाकार, धर्मदेवी कंसकार र विष्णुदेवी राईले भारतको अलाहवादवाट स्वास्थ्य सहायकको तालिम लिएको इतिहास छ । त्यसपछि क्रमशः नेपाली महिलाहरू भारतमा ४ वर्ष ९ महिने लामो नर्सिङ कोर्स गरेर आउने चलन बढेको पाईन्छ । आज गल्ली पिच्छेका अस्पताल अनि क्लिनिकहरूमा नर्सहरूको उपस्थिति बाक्लै देख्न सकिन्छ, सहर सहरमा नर्सिङ कलेजहरू खुलेका छन् अनि अझ विदेश जान सहज हुने भएकाले नर्सिङ प्रतिको आकर्षण बढ्दै गइरहेको छ । नर्सिङ को अचम्मको कुरा के छ भनेँ यो व्यवसायमा पुरुषहरू नगण्य मात्रामा छन्, केही समय अघि केही नर्सिङ कलेजहरूले पुरुषहरूलाई पनि नर्सिङ तालिम दिएकोमा पछि गएर पुरुषहरू यस व्यवसायमा उत्ति आकर्षित नभएको पाइन्छ । शायद माया, स्नेह अनि ममतामयी यो व्यवसायमा महिलाको मधुर उपस्थिती नै अत्युत्तम लागेको हुनसक्छ । बिरामी हामी मध्य जोकोही पनि पर्न सक्छौ, मनोवैज्ञानिक रूपमा पनि उपचारका क्रममा ममता अनि सकारात्मक सोचका साथ आसलाग्दो व्यक्तित्वहरूको उपस्थिति र सहयोगले छिटै निको हुने देखाउँदछ, हामी सबैलाई नर्सहरूबाट अझै धेरै सद्भाव र आशाको अपेक्षा छ । सुरुसुरुमा नर्सिङलाई दुख् लाग्दो व्यवसाय, रात्रिकालीन ड्युटी पर्ने, बिरामी अनि घाउ रगतसँग काम गर्न पर्ने भन्ने रूपमा उति राम्रो रूपमा नहेरे पनि आजको नेपाली समाजमा नर्सहरूको उपस्थिति अनि चित्रण बडो गज्जबरुपमा गरिएको छ । राष्ट्रिय नर्सिङ दिवसको शुभकामना
विश्व कुष्ठरोग दिवस
सुन सुन दिदी–बहिनी
सुन दाजुभाइ
देउता लाग्या नठान है, कुष्ठरोगलाई
कुष्ठरोग लागेपछि लुकाउनु चाहिँ हुन्न
निको हुन्छ ओखतीले, भाकलले छुन्न
नबिराई गरेपछि ओखती मुलो
कुष्ठरोग भन्ने कुरो अब छैन ठुलो, ल है
कुष्ठरोगका अनेक सामाजिक आयाम हुन्छ भन्ने माथिको पङ्क्तिले स्पष्ट पार्छ । रेडियो नेपाल र नेपाल टिभीबाट महसञ्चारले उत्पादन गरेको यो भिडियो-अडियो सुनेर हुर्किएको पुस्ता र भोगेको पुस्ता अझै पनि छौं ।
‘पापको घडा भरिए’पछि कुष्ठरोग लाग्ने भ्रम
‘पापको घडा भरिए’पछि कुष्ठरोग लाग्ने र यो रोग लागेकाहरू अक्षम्य पापी हुन् भन्ने जस्ता अनेक अपमानजनक भ्रम समाजमा व्याप्त छ । समाजका अन्तर–कुन्तरमा यो ‘महापाप’ भन्ने जस्ता परम्परागत मान्यता छन् ।
मध्यकालमा लेखिएका केही पौराणिक कथा–किंवदन्ती र स्मृतिहरूका आधारमा भ्रमजन्य मान्यता समाजमा प¥यो । सदियौँदेखि नेपाली समाजमा कुष्ठरोगलाई श्राप र पापका रूपमा लियो । कुष्ठ रोगीहरूलाई बारीको कुनामा बाँधेर राखिएको घटनाहरू पनि हामीले सुन्यौ । कुष्ठरोगले शरीरका भागहरू फतक्क गलेपछि शरीर कुहिएर प्राण त्याग्नेहरूको बीभत्स दृश्य देख्यौ । त्यस्ता कथाहरू अझै पनि समाजमा सुनिन्छन् ।
कुष्ठरोगको त्यो पीडापछि नेपाली समाजले त्यो रोगलाई असामान्य रूपमा हेरेको हो । अथवा, अझै पनि पुराना पुस्ताका मानिसहरू कुष्ठरोगलाई श्रापका रूपमा नै हेर्छन् । उति बेला यो रोगको औषधि–उपचार हुँदैनथ्यो । अब त नियमित औषधि प्रयोगबाट यो रोग निको पार्न सकिन्छ ।
‘ह्यान्सन्स् डिजिज’
कुष्ठरोग मानव जातीमा हजारौँ वर्ष पहिलेदेखि देखा परेको सङ्क्रमण हो । यो रोगको अङ्ग्रेजी नाम ल्याटिन शब्द ‘लेप्रो’ को विकसित रूप हो । त्यही भएर यसलाई ‘ल्याप्रोसी’ भनिन्छ । नर्वेका डाक्टर÷वैज्ञानिक गेरहार्ड हेनरीक अर्मर ह्यान्सनले सन् १८७३ मा कुष्ठरोगको कीटाणु पत्ता लगाएका थिए । त्यही कारण यो रोगलाई कतिपय मुलुकमा ‘ह्यान्सन्स् डिजिज’ पनि भनिन्छ ।
यो अन्य रोग जस्तो खतरनाक सरुवा रोग नभए पनि यसबाट मानिसका शरीरमा उत्पन्न हुने असामान्य अवस्थाका कारण परम्परागत रूपमा रोगलाई पूर्व जन्मको पापका रूपमा लिने गरिन्थ्यो । यो रोगप्रति नकारात्मक सोचाई कारण रोगीहरू सामाजिक बहिस्कारमा पर्ने गरेका थिए ।
पछिल्ला दिनमा कुष्ठ रोगीहरू प्रति हुने गरेको भेदभावमा कमी आए पनि यस्तो भेदभाव पूर्ण रूपमा अन्त्य हुन सकेको छैन । तर जनचेतनाकै विस्तारसँगै मानिसहरूमा विद्यमान त्यस्तो धारणा भने हट्दै जान थालेको पाइन्छ । त्यही भएर समाजको दृष्टिकोण परिवर्तन नगरी यस रोकाविरुद्ध प्रभावकारी अभियान सञ्चालन गर्न नसकिने बुझाई पनि छ । त्यही कारण कुष्ठरोगसम्बन्धी चेतनामूलक कार्यक्रमलाई अझ बढी प्राथमिकता सञ्चालन गर्ने सरकारी नीति पनि छ ।
विश्व कुष्ठरोग दिवस को पृष्ठभूमि
आज ७० औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम गरी मनाइँदै छ । ‘कुष्ठरोगसँग भेदभाव नगरौँ’, ‘कुष्ठ रोगीलाई माया गरौँ’, ‘कुष्ठ रोगी प्रति हुने भेदभाव अन्त्य गरौँ’ भन्ने जस्ता नारा लेखिएका प्लेकार्डहरू लिएर ¥रयाली प्रदर्शन गरिँदै छ । यस्ता कार्यक्रमले कुष्ठरोगसम्बन्धी भ्रमजन्य परम्परागत मान्यता तोड्न यो दिवसले पनि महत्त्वपूर्ण काम गर्छ । अझ नयाँ पुस्ताले कुरीतिजन्य सवालका मामलामा प्रतिवाद गर्नुपर्छ । सरकारले पनि ‘कुष्ठरोग मुक्त समाज’ घोषणा गरिसकेको छ ।
वर्ष २०२२ को यस दिवसको नारा चाहिँ Act Now हो , स्वाभिमानका लागि एकता अर्थ लाग्ने यस नाराले कुष्ठरोगीहरुको स्वाभिमान र समानता अनि समता तिन वटै कुराहरूको पैरवी गर्दै रोगीहरूको उपचारका लागि कदम चाल्न आव्हान गर्दछ । कुष्ठरोगविरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउने उद्देश्यले देशका ग्रामीण क्षेत्रमा पनि ¥रयाली तथा अन्य कार्यक्रमहरू आयोजना गरिँदै छ । स्कुलहरूमा हाजिरी–जवाफ, वक्तृत्वकला, निबन्ध लेखन जस्ता प्रतियोगितात्मक क्रियाकलापहरू गरिन्छन् ।
कुष्ठरोग प्रभावितहरूप्रति जागरूकता देखाउने उद्देश्य अनुसार सन् १९५४ देखि विश्वभरबाट यो रोगविरुद्ध मनाउन जनवरी ३० तारिखमा थालिएको हो ।
यो एक प्रकारको जीर्ण सङ्क्रमण हो । यो रोग ‘माइकोब्याक्टेरियम लेप्रे’ र ‘माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस’ जीवाणु ‘ब्याक्टेरिया’को सङ्क्रमणको कारणले लाग्छ । सङ्क्रमणको सुरुवातमा कुनै लक्षण देखा नपर्न पनि सक्छ । कतिपय सङ्क्रमित व्यक्तिहरूलाई पाँचदेखि २० वर्षसम्म पनि खासै प्रभाव देखिँदैन ।
कुष्ठरोग ‘पौसिबेसिलरी’ र ‘मल्टिबेसिलरी’ अथवा सर्ने र नसर्ने गरी दुई किसिमको हुन्छ । त्यही भएर कतिपय प्रभावित मानिसहरूले चेतनाको अभावमा उपचारमा हेलचेक्र्याइँ गर्दा बिरामीको अवस्था नाजुक भई मृत्यु समेत हुने गरेको पाइन्छ ।
कुष्ठरोगका यी दुई वटा प्रकारलाई शरीरमा कति वटा वास्तविक रङ गुमेको अथवा शरीरमा स्पर्श शक्ति हराएमा वा फुस्रो दाग छ भन्ने आधारमा छुट्टाइन्छ । पौसिबेसिलरीमा पाँच वा सो भन्दा कम धब्बा दागहरू हुन्छन् भने ‘मल्टिबेसिलरी’मा पाँच वटाभन्दा बढी हुन्छ । कुष्ठरोग सास फेर्दा, बोल्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्कने मसिना कणहरू वा थोपाहरूको माध्यमबाट सर्छ भन्ने विश्वास छ । तर यो रोग त्यति धेरै सङ्क्रामक मानिँदैन ।
नेपाल कुष्ठरोग मुक्त मुलुक घोषणा भइसके पनि यस प्रकारका रोगको लक्षण देखिएका मानिसहरूले सामाजिक तथा पारिवारिक ग्लानि महसुस गरी उपचार प्रक्रियामा सहभागी नभएका उदाहरणहरू प्रशस्तै भेटिन्छन् । त्यही भएर बेला–बेलामा कुष्ठरोग सङ्क्रमित व्यक्तिहरू देखा पर्दै आइरहेको पाइन्छ । विशेष गरी तराईका १६ वटा जिल्लाहरूमा अझै पनि कुष्ठरोग भेटिन्छ ।
मानिसमा उपचार गरे निको हुन्छ भन्ने विश्वास दिलाउन अझ प्रभावकारी अभियानहरू सञ्चालन गर्नु आवश्यक देखिन्छ । सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखा पर्ने, हात खुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महसुस हुँदै जानु कुष्ठरोगका लक्षण हुन् । कुष्ठरोगलाई पूर्णरुपमा निर्मूल पार्न सरकारले रोगीहरूको स्वास्थ्य उपचार केन्द्रसम्म पहुँच होस् भन्ने मनसायले भत्ताको समेत व्यवस्था गरेको छ ।
हाम्रो पात्रोको लागि सुयोग ढकाल
from हाम्रो पात्रो "https://ift.tt/uFC8E1m"
via IFTTT
Post a Comment
0 Comments