सोनाम ल्होसार/श्रीबल्लभ जयन्ती

सोनाम ल्होसार/श्रीबल्लभ जयन्ती

HamroPatro

अडियो सुन्नुहोस

आउनुहोस् सोनाम ल्होछारमा, यस वर्ष खरायोको नयाँ वर्षका उपलक्ष्यमा हर्ष अनि शुभकामना साटासाट गरौँ ।

तामाङ समुदायको पृष्ठभूमि

तामाङ समुदायबारे लेखिएका विभिन्न पुस्तकहरू अनि शोधहरू अध्ययन गर्दा 'ता' भन्नाले घोडा अनि 'माङ' भन्नाले लडाकुहरू भन्ने बुझिन्छ । यस अर्थमा साहसीहरूको समुदाय तामाङहरू वास्तवमै आफ्नो साहस, वीरता अनि रण कौशलताका लागि नेपालमा मात्र नभई संसारभरि प्रचलित छन् । 'ल्होसार' शब्द 'ल्हो' अर्थात् वर्ष वा साल र 'छार' वा 'सार' अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ । यस दिन तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्त्वका साथ ल्होसार मनाउँदछन् । यसरी नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदाय लगायत उत्तर छिमेकी मूलक चीन सहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्दछन् ।

तामाङहरूलाई प्रकृति प्रेमी समूदायकारुपमा चिनिन्छ, विशेष गरी नेपालमा तामाङ जातिले सोनाम ल्होसारका अवसरमा कूल पूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । यस समुदायमा आज छोरी चेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ । सोनाम ल्होसार राष्ट्रिय पर्व भएका कारण राष्ट्र प्रमुखदेखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरूले समेत शुभकामना सन्देश दिने चलन छ । ल्होसार मनाउने समुदायमा 'ल्हो' अर्थात् वर्षहरू बाह्र वटा हुन्छन् । ती वर्षका नामहरूलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ, मुसाबाट सुरु हुने यी वर्षहरू जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ । वर्ष २०२३ चाहिँ खरायोको वर्ष हो । बाह्र वर्गका वर्षहरूलाई बाह्र राशिका रूपमा पनि लिने गरिन्छ ।

नेपालमा ल्होसार मनाउने प्रचलन

नेपालमा ल्होसार मनाउने प्रचलन चीन तथा चीन प्रशासित राज्यबाट भित्रिएको मानिन्छ, किनभने चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई विभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । त्यसो त तामाङ समुदायले चिनियाँ पात्रोभन्दा बेग्लै अनि मौलिक आफ्नै पात्रोको प्रयोग गर्ने गर्दछन् जसलाई 'चन्द्र पात्रो' भनिन्छ । बौद्ध धर्म अनुसार तामाङ जाती महायान सम्प्रदायका हुन् । तामाङहरूका अलावा ल्होसार पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउँदछन् ।

३ प्रकारका ल्होसारहरू

गुरुङले मनाउने ल्होसारलाई तोला ल्होसार, तामाङ लगायतका जातिले मनाउनेलाई सोनाम ल्होसार, शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होसारलाई ग्याल्पो ल्होसार भनिन्छ ।

विश्वव्यापी मनाइने सोनाम ल्होसार

 सोनाम ल्होसार पर्व तामाङ जातीहरू पुगेका नेपाल सहितका अन्य मुलुकहरू सिङ्घापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापान लगायतका देशमा मनाइँदै आएको छ । आजको दिन यी देशहरूका अधिकांश वौद्धविहारहरु रङ्गिन र उल्लासमय हुन्छन्, रङ्गिन सजावटका ध्वजा पताका अनि पुष्पद्वारलगायत अन्य मनमोहक सजावटले आज वौद्धविहार बडो गज्जब देखिन्छ । मुख्यतया डाँडाकाँडामा भएका नेपाली वाैद्धविहारहरुमा गरिएको यस्तो सजावटले परैबाट आँखा तान्दछ, असीम आनन्दको अनुभूति हुन्छ ।

आज माघ शुक्ल प्रतिपदा भएकाले यस संवत् अनुरूप भने सोनाम ल्होसार हो, संवतले जेसुकै भनोस् शुभकामना अनि रौनकको यस ल्होसारको महिनाभरि नै सबैलाई स्वागत छ ।

सोनाम ल्होसारका अवसरमा घर बस्तीहरू सफा गरी बुद्धका चित्रहरू अङ्कित ध्वजापताकाहरू टाँगेर बुद्धको पूजा अर्चना गरिन्छ । कतिपय ठाउँमा जात अनुसारका गाउँका लामा र मुखियाको उपस्थितमा सबै जना एकै ठाउँमा भेला भई नाचगान रमाइलो पनि गरिन्छ । यसरी गाइने अनि नाचिने गीतहरूलाई 'तामाङ सेलो' भनिन्छ, सुस्तरी तर बडो मधुर रूपमा गाइने यस्ता सेलोहरूमा डाँडा पाखा, कन्दरा अनि दैनिक जीवन भोगाई लगायत माया प्रेमका भावनाहरू पनि समावेश हुन्छ । डम्फु चाहिँ यस समुदायको हस्ताक्षर बाजा हो । डम्फु अनि सेलोको सुमधुर मिश्रण मनमोहक हुन्छ । धेरैजसो यस्ता सामुदायिक कार्यक्रमहरू खुला आकाशमुनि गरिन्छ, परम्परागत पहिरनमा सजिएका तामाङ समुदायका व्यक्तिहरू लगायत अन्य सबै समुदाय अनि सबै धर्मका व्यक्तिहरूलाई यस समुदायले खुल्ला हृदयले स्वागत गर्दछन् ।

नकारात्मक तत्त्वहरूलाई हटाउन कालागि, आशा जगाउने सकारात्मक तत्त्वहरू अनि शक्तिहरूलाई डाँक्न कालागि आज विभिन्न तान्त्रिक विधि अनि मुखौटा लगाएर नृत्य पनि गरिन्छ ।

लामाहरूसँग आशिष् लिएर आजको दिन वर्षभरिकालागि शुभ साइतको अपेक्षा राखिन्छ, काठमाण्डौमा भने आजको दिन टुँडिखेलबाट र्‍याली निकालिन्छ । यसरी विभिन्न कार्यक्रम लगायत मेलाहरू आयोजना गरिँदै अनि शुभकामनाहरू आदान प्रदान गर्दै तामाङ समुदायले सैयौं वर्ष पुरानो आफ्नो संस्कार अनि पहिचानलाई पुस्तौँ पुस्तासम्म सफलतापूर्वक कायम राख्दै आएका छन् । सुँगुर, हाँस, कुखुरा, खसी लगायतका विभिन्न परिकारका मासुहरू तैयार पारिने यस विशेष उत्सवमा विभिन्न गुलिया मिठाईहरू बनाएर आजको दिन घरघरमा भोज गर्ने अनि आफन्त भेट्ने चलन रहेको छ । सामुदायिक रूपमा पनि समुदायका सबै जना एकैठाँउमा भेला भएर चाडबाड मनाउने अनि सरल अनि सभ्य रूपमा मिलनसार प्रवृत्तिको संस्कार अनि सन्देश दिने तामाङ समुदायहरू वास्तवमै एउटा अनुकरणीय समुदाय हो ।

सोनाम ल्होसारको शुभकामना ! असल कामनाहरू अनि आशाहरूले सबैलाई पछ्याओस्, चन्द्रमा दाहिने हुन् ।

श्रीबल्लभ जयन्ती

आचार्य श्री वल्लभ एक महान् दार्शनिक र भक्ति मार्गको प्रखर प्रवक्ता थिए। श्री वल्लभाचार्यले अनेक भाषा, ग्रन्थ एवं स्तोत्रहरूको रचना गर्नुभयो। जस मध्य यमुनाष्टक, बालबोध, सिद्धान्त मुक्तावली, पुष्टिप्रवाहमर्यादाभेद, सिद्धान्तरहस्य, नवरत्नस्तोत्र आदीलाई उहाँको चर्चित रचनाहरूको रूपमा स्मरण गरिन्छ। त्यसबाहेक श्री वल्लभले संस्कृत भाषामा भएका थुप्रै ग्रन्थहरूलाई सर्वसाधारणले बुझ्न सहज हुने गरी सरल भाषामा अनुवाद गर्नुभयो। आजको दिन यिनै महाप्रभु वल्लभाचार्यको जन्म जयन्ती हो।

सानो उमेरमै आफ्नो सुपुत्रको प्रतिभा देखेर श्री वल्लभको पिताले आठ वर्षको उमेरमा उनलाई शिक्षाको लागि आचार्य विष्णुसिट्टाको मा पठाए। तेह्र वर्षको उमेरमा श्री वल्लभले वेद-वेदांग आदि जस्ता सबै धर्मशास्त्रहरूको पूर्ण अध्ययन गर्नुभैसकेको थियो।

श्री वल्लभको उमेर बढ्दै गएसँगै उहाँको ज्ञानको प्रसिद्धि चारै दिशामा प्रसारित हुन थाले । पछि श्री वल्लभले शङ्कराचार्यको उपदेशहरूको खण्डन गर्दै ब्रह्माले पनि यो जगतको सत्यता नबुझेको भनी बताउनुभयो । यसै कारण श्री वल्लभका दार्शनिक सोचलाई "शुद्ध द्वैत" पनि भनियो। उहाँको दार्शनिक सोचहरूबाट अति प्रेरित भएर नै त्यस बेलाको विजय नगरका राजाले श्री वल्लभलाई श्रीमद् आचार्यको उपाधिले विभूषित गर्नुभयो। त्यस बेला देखि नै श्री वल्लभ महाप्रभु वल्लभाचार्यको रूपमा प्रतिष्ठित हुनुहुन्छ।

हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन श्री वल्लभ जयन्ती मनाइन्छ ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



from हाम्रो पात्रो "https://ift.tt/FCUONl5"
via IFTTT

Post a Comment

0 Comments