माघ महिना सुर्य मकर राशीमा प्रवेश गर्दा कुन राशीलाई कस्तो प्रभाव ?

माघ महिना सुर्य मकर राशीमा प्रवेश गर्दा कुन राशीलाई कस्तो प्रभाव ?

HamroPatro

यस्य निश्वसितम वेदा: यो वेदेभ्योSखिलम जगत् ।

निर्ममे तमहम वन्दे, विद्यातीर्थम महेश्वरम ॥

आदरणीय मित्र ! नमस्कार,

हाम्रा वेदहरु भन्दछन- सूर्य आत्मा जगत: तस्थुखश्च, व्यवहारिक र वैज्ञानिक धरातलमा पनि यो सत्य ठहर्छ । जीव र जगतका आत्मा हुन सूर्यदेव । वेदका आँखा ज्योतिषको दृष्टिले सूर्यका गति अनुसारको भिन्न भिन्न फल हुने मानिन्छ । तपाई हाम्रो जीवनमा सर्वाधिक प्रभाव पार्ने सूर्यदेव ग्रह पनि हुन र देवता पनि हुन । शनि र यमराज सूर्यका पुत्र मानिन्छन ।

सूर्यले आफ्नो कक्षमा एक चक्र घुम्दा १२ प्रकारका नक्षत्र राशिहरुको प्रभाव क्षेत्रमा पुग्छ र भिन्न भिन्न प्रकारको अनुभव गर्छ । त्यस्तै भिन्न भिन्न प्रभाव Reflect गर्ने गर्छ । पहिलो राशिमा हुँदा सूर्यदेव अत्यन्त प्रसन्न हुन्छन । त्यसैले मेष राशिमा सूर्य ग्रह उच्च तहका मानिन्छन । सूर्य मेष राशिमा हुने महिनालाई हामी वैशाख महिना भन्दछौ । वैशाख महिना वसन्त ऋतुमा सूर्यको जीवनी शक्ति छरपस्ट देख्न अनुभव गर्न सकिन्छ ।

दोस्रो तेस्रो र चौथो राशिमा हुँदा मित्रका घरमा बसेको बेलाको जस्तो अनुभव रिफ्लेक्ट गर्छ भने पंचम राशि सिंहमा सूर्यदेव अझ बढ़ी प्रसन्न हुने गर्छन । छैठौ राशिमा मित्र गृही अनुभव गरेता पनि सातौ तुला राशिमा सूर्यदेव नीचताको अनुभव गर्छन । कार्तिक महिना सूर्यका दृष्टिले नराम्रो मानिन्छ । कार्तिक महिनामा जन्मेका जातकहरुको जन्म कुण्डलीमा प्राय: सूर्य नीच हुने र उसको आत्मबल कमजोर हुने स्पष्ट देखिएको छ ।

आठौ र नवौं राशिमा सूर्य फेरि पनि मित्र गृही भएको अनुभव गर्छ भने दशौं र एघारौ राशिमा हुँदा शत्रुको घरमा बस्दा जस्तो असजिलो अनुभव गर्दछन । बाह्रौं राशिमा मित्रवत् अनुभव गर्ने गर्छन । यसरी हेरदा कतै सूर्य प्रसन्न, कतै दुःखी र कतै सामान्य गरी तीन अवस्थामा हुने संकेत पाइन्छ ।

सूर्य प्रसन्न हुने समयमा पिता राजा हाकिम आदिबाट लाभ लिन सजिलो हुन्छ भने सूर्य दुःखी भएका बेलामा उक्तबर्गले नै दुःख दिने गर्छन । सन्तान जन्माउने सन्दर्भमा पनि चैत वैशाख भदौ जस्ता महिना सर्वोत्तम मानिन्छ ।

हाम्रो जीवनमा सर्वाधिक प्रभाव पार्ने भएकाले ग्रहहरुको राजा मानिन्छ सूर्य । एकदिनमा एक डिग्री, तीस दिनमा तीस डिग्री संचार गर्छ र वर्षभरिमा तीन सय साठी डिग्री अर्थात् एक चक्र पुरा गर्छ । सूर्यको यसै गतिका आधारमा दिन महिना र वर्ष बनेका छन । मकर राशिमा सूर्य हुँदा माघ महिना हुनेगर्छ । अब एक महीनासम्म सूर्य मकरमा हुने छ ।

सूर्यको प्रभावको बारेमा पुरा पुरा वर्णन गर्न त शायदै कसैले सक्ला । आजको यो सामग्रीमा सूर्यको सामान्य स्वभाव र महीनैपिच्छे राशि परिवर्तन गर्दा माघ महिना मकर राशिमा रहदासम्म उत्पन्न हुने फल विचार गर्ने सानो प्रयास गर्दै छौ ।

आदरणीय मित्र !

माघ एक गतेदेखि सूर्य धनुराशिबाट मकर राशिमा जानेछ । शनि र शुक्र पहिले देखि नै मकर राशिमा छन । सूर्यको यो घटनालाई ज्योतिषीहरु मकर संक्रान्ति भन्ने गर्छन । त्यसै दिनदेखि सूर्य उत्तरायणमा जाने गर्छ । सूर्य ६ महिनासम्म उत्तरायणमा हुँदा लामा दिन छोटा रात र गर्मी अनुभव हुन्छ भने साउन एक गतेदेखि पुष मासान्त सम्म दक्षिणायनमा हुँदा छोटा दिन लामा रात र जाड़ो अनुभव हुन्छ । न्याना र लामा दिनको शुरूबात हुने मानेर नै मकर संक्रान्तिको धार्मिक रूपले पनि विशेष महिमा पाइन्छ । वेद आदि शास्त्रमा सूर्यको दाहिनेतिर शंकर भगवान र देव्रेतिर अग्निदेवको सदा सर्वदा उपस्थिति रहन्छ भनिएको छ ।

सूर्यदेव बाह्र राशिमा घुम्ने क्रममा मकर राशिमा माघ महिनामा आइपुग्दा र एक महिनासम्म यहाँ रहंदा कुन कुन राशिलाई के कस्तो असर प्रभाव पर्छ तत् सम्बन्धी फल विचार प्रस्तुत छ ।

मेष-

मेष राशिका मित्रहरुलाई सूर्यको यो गोचर दशम भाव कर्म स्थानमा हुने छ । सूर्यकै पुत्र शनिको घरमा सूर्य हुँदा, सूर्य प्रसन्न पनि छन तर पनि शनि र सूर्यबीच शत्रुभाव भएकाले खिन्न मन पनि छन । केन्द्रमा भएकाले बलवान पनि छन । पिता पुत्रका बीचमा प्रेमपूर्ण दुश्मनीको अनौठो अवस्था उत्पन्न हुने र त्यस्तै अनुभव गराउने छन । कामको सन्दर्भमा हाकिम या नेतासंग विवाद बढ़न सक्छ । बन्ने काम पनि बिग्रन सक्छ । संयमित हुनै पर्ने छ । आमा, परिवार गाड़ी आदि क्षेत्रमा पनि हानि हुनसक्छ । यी क्षेत्रमा सावधान रहनु पर्ने छ ।

वृष-

वृष राशिका मित्रहरुलाई अब सूर्य नवम भावमा गोचर गर्ने छ । धर्मस्थानमा सूर्यको उपस्थितिले धार्मिक गतिविधि बढ़ाउने छ । पिता हाकिम या नेताबाट लाभ हुनेछ । पिताको स्वास्थ्यमा समस्या आउन सक्छ । जोश जाँगर या उत्साहमा कमी हुने सम्भावना पनि देखिन्छ ।

मिथुन-

मिथुन राशिका मित्रहरुका लागि अब सूर्यले अष्टम भावमा गोचर गर्नेछ । मित्रगृही बनेर सूर्यले रोग शोकबाट मुक्त, जेल आदि अनेक बन्धनबाट मुक्त गर्ने छन । स्वास्थ्य सप्रिने, मन प्रसन्न हुने छ । पिता या हाकिम बर्गको स्वास्थ्य विग्रन सक्ने दैखिन्छ । धेरै दिन देखि खोजिराखेको तर नभेटिएको सामग्री भेटिने सम्भावना देखिन्छ । पैतृक धन हानि हुनसक्ने सम्भावना छ ।

कर्कट-

कर्कट राशि हुने मित्रहरुका लागि माघ महिनाभरि सूर्यदेव सप्तम भावमा गोचर गर्ने छन । पति पत्नी या मित्रबर्ग बीच बादविवाद बढ़न सक्ने छ । आगोले पोल्ने अथवा त्यस्तै केही घटना हुने सम्भावना देखिन्छ । गर्मी या गर्मीजन्य बिमारी बढ़न सक्ने छ ।

सिंह-

सिंह राशिका मित्रहरुका लागि सूर्यदेव माघ महिनाभरि छैठो भावमा रहने छन । रोग मुक्त भइने छ । ऋण मुक्तिका साथ शत्रुमाथि विजय हुने योग बन्ने छ । वैदेशिक मामिलामा प्रगति बढ़ाउने, मितव्ययी गराउने छन ।

कन्या-

कन्या राशिका मित्रहरुका लागि माघ महीनाभरि सूर्यदेव पंचम भावमा हुने छन । शिक्षा क्षेत्रमा राम्रो अनुभव हुने छ । सन्तानको बाटोबाट मन खुसी हुने छ । उन्नति प्रगति बढ़ने छ । आत्मबल बढ़ने र मन प्रसन्न हुने छ । पिता हाकिम या नेताबर्ग बाट लाभ हुने छ ।

तुला-

तुला राशि हुने मित्रका लागि माघमा चतुर्थ भावमा सूर्यको गोचर हुने छ ।

आमासंग मतभेद हुनसक्छ । घर परिवारमा चिन्ता टेन्शन बढ़ने छ । आमालाई या परिवारको सदस्यलाई आगोले पोल्ने या गर्मी जन्य स्वास्थ्य समस्या देखिन सक्छ । काम बिग्रने र चिन्ता बढ़ने छ ।

वृश्चिक-

वृश्चिक राशिका मित्रहरुलाई माघ महिनामा सूर्यदेव तृतीयभावमा गोचर गर्ने छन । जोश जाँगर बढ़ाउने, दाजुभाई बर्गबाट विवाद बढ़न सक्ने छ । सट्टा शेयर लाटरी आदिको बाटोबाट धनहानि हुने सम्भावना देखिन्छ । धार्मिक कार्यमा अरुचि बढ़न सक्ने छ ।

धनु-

धनु राशिका मित्रहरुका लागि माघ महिनामा सूर्यदेव दोस्रो भावमा गोचर गर्ने छन । धनभावमा राजाको प्रवेशले धन वैभवका नज्दिक पुर्याउने पक्का छ । धन आमदनी बढ़ने छ । प्रमोशन आदि बढ़ने छ । मन प्रसन्न रहने छ । रोगमुक्त भएको अनुभव हुने छ । स्वास्थ्य रक्षामा मन लाग्ने छ ।

मकर-

मकर राशि हुने मित्र हरुका लागि माघ महीनामा सूर्यदेव लग्न अर्थात् पहिलो भावमा गोचर गर्ने छन । आत्मबल बढ़ेको अनुभव हुने छ । चाँडो चाँडो रिस उठने छ । आँखा या शिर सम्बन्धी स्वास्थ्य समस्या बढ़न सकने छ । राजकीय व्यक्तित्व बनाउने छ । पति पत्नी या मित्रबर्गबाट विवाद झमेला आउन सक्छ ।

कुम्भ-

कुम्भ राशिका मित्रहरुका लागि माघ महीनामा सूर्य देव बाह्रौ भावमा संचार गर्ने छन । मितव्ययी बनाउने छ । सार्थक यात्राको योग बन्ने छ । रोग ऋण शत्रुपक्षमा विजय बनाउने छ । वैदेशिक मामिलामा सफलता दिने छ । आँखा टाउकोमा समस्या हुनसक्छ ।

मीन-

मीन राशिका मित्रहरुका लागि माघ महीनामा सूर्यको गोचर एघारौ भावमा पर्ने छ । पिता, हाकिम या राजा वर्गबाट धनलाभ हुने छ । आय आमदानी बढ़ाउने छ । मन प्रसन्न रहने छ । मित्रबर्ग बाट सपोर्ट मिलने छ । शिक्षा र सन्तानको बाटोबाट नैराश्य अनुभव हुने छ ।

समाधानका केही उपायहरु—-

सूर्यदेव नेगेटिव भएमा प्राय: पिता या हाकिमसंग मतभेद हुने गर्छ । आत्मबल कमजोर हुन्छ । आँखा र टाउकोमा रोग समस्या बढ़न थाल्छ । आगोले पोल्ने या आगलागी आदि हुने गर्छ । सूर्यग्रहबाट बन्ने नकारात्मक असर प्रभावलाई कम गर्न र सकारात्मक प्रभावलाई बढ़ाउने केही उपाय हरुको चर्चा गरौ ।

१. विद्वान पण्डितबाट ग्रह शान्ति गर्नु

२. ॐ घृणि: सूर्याय नम: यो मन्त्र नित्य १०८ जप गर्नु,

३. आइतबार नून तेल नखानु नलगाउनु,

४. हरेक दिन सूर्यलाई समन्त्र जल चढ़ाउनु,

५. पिता या हाकिमवर्गको सेवा गर्नु,

६. रूबी रत्न या पाँचमुखी रुद्राक्ष धारण गर्नु,

७. सूर्य यन्त्र धारण गर्नु,

८. रातो वस्तु दान या उपहार नलिनु, नलगाउनु,

९. रातो वस्तु दान उपहार दिनु आदि

 - ज्यो. प.  आचार्य चूड़ामणि पाठक



from हाम्रो पात्रो "https://ift.tt/eTqKF2I"
via IFTTT

Post a Comment

0 Comments