अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस

अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस

HamroPatro

अडियो सुन्नुहोस

Recover with Integrity

निष्ठाका साथ सुधार गरौँ

पृष्ठभूमि

हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई बुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाइने गरिन्छ । सन् २००३ मा संयुक्त राष्ट्र सङ्घको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रूपमा मान्यता दिएको हो ।

आजको दिन संसारभरि भ्रष्टाचार प्रतिको चेतनामा वृद्धि गराउन र जागरण बढाउने कार्यमा केन्द्रित गरिन्छ । मान्छेहरूमा मानवता, नैतिकता अनि लालसाबिनाको साधारण जीवनशैलीको महत्त्व जगाउन सकेमा भ्रष्टाचारमा कमी ल्याउन सकिन्छ । अर्कोतर्फ भ्रष्टाचारीहरूलाई कारबाही गरेर उदाहरण कायम गर्न सकेमा आगामी दिनमा भ्रष्टाचारलाई न्यून गर्दै समूल विकासको बाटो तर्फ अघि बढ्न सकिन्छ । नेपालमा कुनै पनि संस्था या राज्यका विभिन्न अङ्गमा रही पदमा रहेका व्यक्तिहरूले आफ्नो अधिकारको दुरुपयोग गरेमा कारबाही गर्न संवैधानिक निकायका रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन गरिएको छ ।

"हातका मैला सुनका थैला, के गर्नु धनले

साग र सिस्नो खाएकै बेस, आनन्दी मनले"

महाकविका यी हरफ आज पनि उत्तिकै सार्थक छ, जीवनको मूलभूत उद्देश्य भनेको साधारण जीवनशैली र असाधारण र विलक्षण विचारहरूको र उदाहरणहरूको सृजना हो । सोक्रेटस्, महाकवि लक्ष्मीप्रसाद देवकोटा, रुमी, गौतम बुद्ध अनि नेलशन मण्डेलाहरुलाई उनीहरूले कमाएको धन नभई उनीहरूको व्यक्तित्व, विचार अनि समाज परिवर्तनका आधारहरू खडा गरेकाले मात्र हामीले चिनेका हौ र सृष्टि रहुन्जेल पुस्तौँ पुस्ताकाबिच जीवित रहनेछन् ।

पुस्ता पिरोल्ने सम्पत्ति

पैसा अनि सुखी जीवनशैली लगायत निरन्तरका नव सपनाहरूले हामी ग्रसित नभईकन सुखी र आफ्नो पसिनाको कमाई ले बाँच्न सिक्न जरुरी छ, सरकारलाई कर तिर्न र त्यसको पैरवी गर्न पनि हाम्रो अधिकार र दायित्व हो । भ्रष्टाचार मार्फत सम्पत्ति कमाउनु छोटो उन्नतिको बाटो त होला तर ठगेर, झुटो अनि संसारलाई पिरोलेर कमाएको अझ भनौ लुटेको सम्पत्ति एउटा दुर्भाग्यदायी अपुताली भन्दा पनि नराम्रो कुरा हो । यस्तो सम्पत्तिले पुस्तौँ पुस्ता पिरोल्छ ।

भ्रष्टाचार आजभोलि संसारभरि एउटा साझा समस्याका रूपमा बढी रहेको छ । भ्रष्टाचार एउटा सामाजिक चुनौती हो जसको प्रभावले आर्थिक, राजनैतिक अनि वैचारिक पृष्ठभूमिलाई नकारात्मक असर पार्ने गर्दछ । मान्छेहरूमा बढ्दो धन कमाउने लालसा, नैतिकतामा कमी, गैर कानुनी र छोटा कमाउने बाटाहरू अपनाउने चलनले भ्रष्टाचारले संसार भरी जरा गाडेको छ । यसले आर्थिक उन्नतिलाई धराशायी बनाउँछ र शासन व्यवस्थालाई कमजोर तुल्याउँदछ ।

हामी आफैले कर तिरेर खडा गरेका सरकारी संयन्त्रहरू अनि त्यसैबाट तलब खाने कर्मचारीहरूले नै सहज कार्य कालागि पनि घुमाउरो गरी दुःख दिने गर्दा, उनीहरूले सामान्य कार्यको दुःखदायी परिभाषा दिँदा राज्यप्रति अनि आफूले तिरेको करप्रति धिक्कार लाग्नू स्वाभाविक छ । वास्तवमा सुशासन भनेको पारदर्शिता नै हो । भ्रष्टाचारले पारदर्शीयताको कमी गराउँछ अनि प्रजातन्त्रप्रतिको विश्वासको धरातललाई धमिल्याई दिन्छ । हामीले चुनेर पठाएका प्रतिनिधीहरुले नै संसदमा गएर राज्य कोष अनि सुविधाको बढ्दो दुरुपयोग र भ्रष्टाचारले आम जनताको चुनाव र संसदीय व्यवस्थाप्रति अविश्वास र वितृष्णा बढ्दै नजाओस् ।

नेपालको संविधानमा भ्रष्टाचार विरुद्धको व्यवस्था

नेपालको संविधान २०७२ को भाग २१ अन्तर्गत धारा २३८ मा आयोगको गठन सम्बन्धी व्यवस्था गरिएको छ भने धारा २३९ मा आयोगको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ । संविधानमा भएको व्यवस्था बमोजिम कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको उजुरी आएमा वा अनुसन्धानको क्रममा भेटिएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुन बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ ।

कानुनले गरेका प्रावधान भन्दा पनि हामीभित्र रहेको सोचाई भ्रष्टाचारविरुद्ध अगाडी बढ्न कालागि जरुरी छ । मान्छेलाई उसले बनाएका घर, चढ्ने गाडी, लगाउने कपडा भन्दा पनि उसको गुण, नैतिकता र शिक्षाका आधारमा मूल्याङ्कन गर्ने परिपाटी बसाउन जरुरी छ । स्वतन्त्र, सभ्य, समान अनि भ्रष्टाचारमुक्त पारदर्शी समाजको शुभकामना । भ्रष्टाचार विरुद्धको अभियानमा लागेका अभियन्ताहरूलाई सलाम, यस विरुद्ध हामी सबै अघि बढौँ, घूस खोरी र भ्रष्टाचारीलाई  जरैदेखि उखेल्न हातेमालो गरौँ ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



from हाम्रो पात्रो "https://ift.tt/uqSaYgs"
via IFTTT

Post a Comment

0 Comments