सन् २०२२ लाई फर्केर हेर्दा

सन् २०२२ लाई फर्केर हेर्दा

HamroPatro

सन् २०२३ को पहिलो दिनमा स्वागत छ । सन् २०२३ साललाई हर्षोल्लासका साथ स्वागत गरौं ।

हामीले यो वर्ष सुरु गर्नु अघि, सन् २०२२ को छोटो समीक्षा गरेर हेरौँ न त ।

नेपाली परिवेशमा सन् २०२२

नेपालका लागि सन् २०२२ मिश्रित रह्यो । यसलाई शक्तिको श्रोत परिवर्तन र रूपान्तरणको प्रारम्भिक वर्षको रूपमा लिन सकिन्छ । सन् २०२२ मा शुरु भएको राजनैतिक विचारधाराको नयाँ प्रवृत्तिले आगामी वर्षहरूमा नयाँ चेतना जगाउने विश्वास छ । याे वर्ष हामीले स्थानीय सरकार, प्रदेश सरकार र प्रतिनिधिसभाको श्रृङ्खलाबद्ध निर्वाचन देख्यौं । विद्यमान दलहरूको खिचातानी र अस्वस्थ गठबन्धन अनि नेतृत्वको कुर्सी मोहले वर्ष २०२२ मा नेपाली जनलाई पुराना भन्दा नयाँ नेतृत्वको चाहमा झनै वृद्धि गरेको पनि अनुमान लगाइएको छ । विगतमा नदेखेको राजनीतिक परिदृश्यमा यो वर्ष ठूलो परिवर्तन आएको छ । धेरै स्वतन्त्र व्यक्तिहरूले दल र पार्टीभन्दा माथि उठेर आफ्नो विचारधारा प्रस्तुत गरी उमेदवारी दिएकोमा समर्थन पाएका छन् । नेपाली प्रजातान्त्रिक इतिहासमा यतिको ठुलो रूपान्तरण अहिलेसम्म भएको थिएन ।

सन् २०२२ ले नेपाली राजनीतिक नक्षत्रमा बलेन्द्र शाह, गोपाल हमाल, हर्क साम्पाङ, रवि लामिछाने, तोशिमा कार्की लगायतका धेरै नाम ल्याएको छ । अब, यो वर्ष उनीहरूको वाचालाई सार्थक गर्ने अवसर हो । वर्तमान दलहरूबीचको विवाद, अस्वस्थ गठबन्धन र नेतृत्वको शक्तिप्रतिको मोहले यो वर्ष नयाँ नेतृत्व परिवर्तनको नेपाली इच्छालाई अझ बढाएको छ । यो राजनीतिक क्षेत्रमा बिस्तारै नयाँ पुस्तालाई हस्तान्तरण भइरहेको संकेत हुन सक्छ ।

अर्थतन्त्रका हिसाबले यो वर्ष नेपाललाई तनावपूर्ण रह्यो । एकातिर निर्वाचनबाट राज्य कोषमा भार थपिएको छ भने अर्कोतर्फ विश्वव्यापी आर्थिक मन्दी र तरलताले सेयर बजार, बैंकिङ, रियल स्टेट, आयात निर्यात लगायतका अधिकांश क्षेत्रमा नकारात्मक प्रभाव र सङ्कट परेको छ । अघिल्लो वर्षको महामारीले बल्ल बल्ल उठ्न खोजेको पर्यटन र अन्य व्यवसायहरू सन् २०२२ मा चाहेको जस्तो उठ्न सकेनन् । आर्थिक खाडललाई कम गर्न सरकारी नेतृत्वले कुनै महत्वपूर्ण कदम चालेको २०२२ ले देख्न पाइएन ।

यस वर्ष मुस्ताङमा भएको विमान दुर्घटनाले २२ जनाको ज्यान लियो भने बाढीका कारण सबैभन्दा बढी प्रभावित कर्णाली प्रदेशमा कम्तीमा ३३ जनाको ज्यान गयो । वर्षायाममा नेपालका विभिन्न भागमा धेरै सडक दुर्घटनाहरू भएका छन् । यो वर्ष ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको निधनले नेपालीहरू गहिरो शोकमा डुबेका छन् । बिस्तारै हामी कोरोनाको महामारीबाट निको हुँदै गइरहेका थियौं, तर पछि हामी डेंगु महामारीको चपेटामा पर्यौं जसले धेरैलाई हताहत बनायो ।

सामाजिक सञ्जालमा नेपाली नेटिजनहरुको सक्रियतामा वर्ष २०२२ मा केही कमी आएन । कहिले एमसीसी विरुद्धको आन्दोलन त कहिले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरोधी ह्याशट्यागहरु नेपाली डिजिटल इकोसिस्टममा निकै चले । टुकुचा खोला, महानगर पार्किङ, डोजर लगायतका कुराहरूले समाचारका शीर्षकहरूमा वर्ष २०२२ मा निकै चर्चा पाए ।

विश्वव्यापी परिवेशमा सन् २०२२

रूसले युक्रेनमाथि "विशेष सैन्य अपरेशन" गरी फेब्रुअरी २४, २०२२ मा आक्रमण सुरु गर्‍यो, जुन अझै पनि सक्रिय छ र अहिलेसम्म युद्धविरामको कुनै संकेत देखिदैन । रुस र युक्रेनबीचको यो द्वन्द्वको प्रभावले विश्व बजारमा इन्धन र खाद्यान्नको मूल्य बढ्यो र सन् २०२२ मा पुनः विश्वको ध्रुवीकरण सुरु भयो ।

सन् २०२२ मा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा जो बाइडेनको आगमन र चीनका सी जिनपिङको पुनरागमनले अगामी वर्षहरूका लागि ठूलो महत्व राख्छ, किनकि ठूला शक्तिहरूमा विपरित राजनीतिक विचारधाराहरूको सँग प्रतिस्पर्धामा छन् । सन् २०२२ मा, विश्वभरका देशहरू कोभिड पछिको सामान्य अवस्थामा फर्किए पनि, चीन भने अझै पनि कडा लकडाउनका बिचमा नै हुनु एउटा रहस्य भएको छ । सन् २०२३ मा त्यसको उत्तर पाइने छ ।

यस वर्ष महारानी एलिजाबेथ द्वितीयको मृत्युले धेरैलाई दुखित बनायो । इङ्गल्याण्डका नवनिर्वाचित प्रधानमन्त्री भारतीय मूलका थिए भने त्यसैगरि अमेरिकामा पनि कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित भएकी थिइन् जसले विश्वलाई समानता र समावेशीताको उदाहरण देखाए ।

श्रीलंकाको दयनीय आर्थिक अवस्थाबाट सुरु भएर दक्षिण एसियाका सबै देशहरू पनि सन् २०२२ मा मूल्यवृद्धि, मुद्रास्फीति र तरलताको अभावको चपेटामा परेका थिए तर श्रीलंका जत्तिकै खराब स्थितिमा भने थिएनन् । पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानको बर्खास्तसँगै नयाँ नेतृत्वको उदय भयो, र अफगानिस्तानमा सन् २०२२ मा तालिवानको उदयसँगै बढ्दो सामाजिक प्रतिबन्धहरू चरम सीमामा पुगे ।

एसियाली राष्ट्र कतारले सन् २०२२ मा फिफा विश्वकप आयोजना गरेको थियो । ३२ टोली, ६४ खेल र १७२ गोल पछि अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराएर तेस्रो पटक च्याम्पियन बन्यो । सन् १९८६ बाट विश्वकप चुम्न नपाएको अर्जेन्टिनाले २०२२ मा आएर विश्वकप घर लिएर गयो । लामो प्रतिक्षापछि अन्ततः लियोनल मेस्सीले विश्वकप ट्रफी जिताउन सफल भए छन् । सन् २०२२ मा टी२० क्रिकेट विश्वकपमा भने इङ्गल्याण्ड विजेता बन्यो ।

यो वर्ष विश्वको जनसंख्या ८ अर्ब नाघेको छ । अब हामी ठूलो परिवार भयाै र बढ्दैछौं ।

सन् २०२२ मा हाम्रो पात्रो

हाम्रो पात्रोले यो वर्ष आफ्नो १२ औं वार्षिकोत्सव पूरा गरेको छ । हाम्रो ज्योतिष, हाम्रो गिफ्टस्, हाम्रो पात्रो हेल्थ, हाम्रो पात्रो रेमिट, हाम्रो रिचार्ज लगायतका फिचरहरूमा बढ्दो प्रयोगले नेपाली जनको प्रविधि प्रयोगको क्षितिजलाई थप खुल्ला बनाउन प्रमाणित गरेको छ जस्ले हाम्रो पात्रो परिवारका प्रयोगकर्ताको विश्वासलाई निरन्तरता दिइएको छ । हाम्रो पात्रो सुपर एप बन्ने लक्ष्य साथ अघि बढिरहेको छ । प्रत्येक महिना १३ लाख भन्दा बढीले यसको प्रयोग गर्छन् । यो वर्ष हाम्रो पात्रो रेमिटले सञ्चालनको पहिलो वर्षमा नेपाललाई १.५ अर्ब रेमिट्यान्स भित्र्यायो ।

हाम्रो पात्रो हेल्थले कन्फरेन्स कल प्रणाली शुरु गरेको छ जहाँ आफन्त वा तेस्रो पक्ष, डाक्टर र बिरामीसँग सँगै कलमा बस्न सक्नुहुन्छ । यो सेवा विशेष गरि विदेशमा बस्ने र आफ्नो प्रियजनको स्वास्थ्यको बारेमा चिन्ता लिने आफन्तहरूलाई निकै उपयोगी हुने छ । यो वर्ष हाम्रो पात्रो हेल्थबाट ३ हजारभन्दा धेरैले स्वास्थ्य परामर्श लिएका छन् र २ सयभन्दा बढी डाक्टरहरू तपाईंको सेवामा उपलब्ध छन् । हाम्रो पात्रोको नँया प्रस्तुती हाम्रो पे जुन आन्तरिक रूपमा जारी गरिसकेको छ र हाम्रा सबै मूल्यवान ग्राहकहरूका लागि चाँडै नै जारी गर्नेछ ।

प्रविधि र प्रयोगको थप आयामहरूको वर्ष २०२३ लाई अनेक अपेक्षा छ । सन् २०२३ को अधिकतम सदुपयोग गरौं !

सन् २०२३ को धेरै धेरै शुभकामना !!!

हाम्रो पात्रोका लागि सुयोग ढकाल



from हाम्रो पात्रो "https://ift.tt/yfcUjWn"
via IFTTT

Post a Comment

0 Comments